
प्लास्टिक प्रदूषणबारे जनकपुरमा बहुपक्षीय संवाद सम्पन्न
Share this
काठमाडाैँ । प्लास्टिक प्रदूषण र प्लास्टिकबाट पर्न जाने असरहरु तथा यसको प्रयोगमा रोकथाम, बैकाल्पिक प्रयोग र न्युनिकरणका सन्दर्भमा २०८० फागुन १८ गते जनकपुरधाममा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरिएको छ । कयापलटको संयोजन र केपिएमजी (KPMG) को आयोजना र विश्व बैंककाे सहयाेगमा आयाेजित कार्यक्रममा उक्त विषयमा छलफल भएको थियो ।
प्लास्टिक प्रयोगका कारण अधिकाँश व्यक्तिमा क्यान्सरको समस्या हुने गरेको तथा यसको प्रयोगबाट वातावरण नै दुषीत हुने गरेका कारण यसप्रति सरकार तथा सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको छलफलमा सहभागीहरुले जोड दिएका छन् ।
छलफलमा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले प्लास्टिक प्रयोगमा न्युनिकरण ल्याउन कक्षा एकदेखिकै पाठ्यक्रममा यसको अध्ययन जरुरी रहेको र सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहले ऐन ल्याएरै प्लास्टिक प्रयोगका कारण नागरिकलाई पारिरहेको असरको निवारण खोज्न जरुरी रहेको उहाँले सुझाउनु भएको छ ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य रिंकु कुमारी मिश्रले प्लास्टिकको प्रयोग पूर्ण रुपले बन्देज गर्नु पर्ने उल्लेख गर्नु हुँदै प्लास्टिकको सट्टा जुट लगायतबाट बनेका सामग्रीहरुको प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
वातावरण अभियानी कृष्ण दिक्षितले प्लास्टिकको सामग्रीको न्युनिकरणका लागि स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनु भयो । वातावरण अभियानी कृष्ण चन्द्रले प्लास्टिकको प्रयोग गर्दिन भनेर स्वयम् आफैले व्यवहारमा लागु गर्न नसके यो समस्याको समाधान नहुने उहाँको तर्क थियो ।
प्लास्टिकको उत्पादन र प्रयोगमा नियमन गर्न माग गर्दै भरतकुमार बस्नेतले २०७२ सालमा दायर गरेको रिट उपर सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्ल र शुष्मालता माथेमाको २०७९ वैशाख १९ गतेको इजलासले प्लास्टिकका झोलाहरुको आयात, भण्डारण र बिक्री, वितरण तथा प्रयोगलाई व्यवस्थित र नियमित गर्ने सूचना कार्यान्वयन गर्न गराउन परामादेश जारी गरेको छ ।
मानव स्वास्थ्य, वातावरण र फोहोर व्यवस्थापनको अवाश्यकताको नजरबाट प्लास्टिकको उत्पादन, प्रयोग र निपटानलाई व्यवस्थित गर्नु आवश्यक रहेको देखिन्छ,-फैसलाको पूर्ण पाठमा भनिएको छ ।
Share this
kayaadmin